काठमाडौं विश्वविद्यालय ऐन, २०४८
२०४८ सालको ऐन नं. ३४
स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत महेन्द्रमाला परम नेपालप्रतापभास्कर ओजस्विराजन्य परम गौरवमय तेजस्वी त्रिभुवनप्रजातन्त्रश्रीपद परम उज्ज्वल कीर्तिमय नेपालश्रीपद परम प्रोज्ज्वल नेपालतारा परम पवित्र ॐरामपट्ट परम ज्योतिर्मय सुविख्यात त्रिशक्तिपट्ट परम सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु परमाधिपति अतिरथी परम सेनाधिपति श्री श्री श्री श्री श्रीमन्महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव देवानाम् सदा समरविजयिनाम्।
काठमाडौं विश्वविद्यालयको स्थापना गर्न बनेको ऐन
प्रस्तावना : कला, विज्ञान, व्यवस्थापन, प्रविधि जस्ता विविध क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धानको लागि उच्च तहका शिक्षण संस्थाहरु सञ्चालन गर्न गैर सरकारी क्षेत्रमा एक विश्वविद्यालयको स्थापना र व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको बीसौं वर्षमा संसदले यो ऐन बनाएकोछ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “काठमाडौं विश्वविद्यालय ऐन, २०४८” रहेकोछ।
(२) यो ऐन श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ। Ë
२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा, –
(क) “विश्वविद्यालय भन्नाले यस ऐन बमोजिम स्थापना भएको काठमाडौं विश्वविद्यालय सम्झनु पर्छ।
(ख) “सभा” भन्नाले दफा ४ बमोजिमको विश्वविद्यालय सभा सम्झनु पर्छ।
(ग) “कार्यकारी परिषद्” भन्नाले दफा ६ बमोजिमको कार्यकारी परिषद् सम्झनु पर्छ।
(घ) “प्राज्ञिक परिषद्” भन्नाले दफा ८ बमोजिमको प्राज्ञिक परिषद् सम्झनु पर्छ।
(ङ) “डीन” भन्नाले विश्वविद्यालय अन्तर्गत स्थापित विभिन्न संकायका प्रमुख सम्झनु पर्छ।
(च) “स्कूल” भन्नाले विश्वविद्यालयका प्रत्येक संकायका कार्यक्रमहरु सञ्चालित हुने निकाय सम्झनु पर्छ।
(छ) “कलेज” भन्नाले विश्वविद्यालयसित सम्बन्धन प्राप्त शिक्षण संस्था सम्झनु पर्छ।
(ज) “प्राचार्य” भन्नाले कलेजको प्राचार्य सम्झनु पर्छ।
(झ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
३. विश्वविद्यालयको स्थापना : (१) कला, विज्ञान, व्यवस्थापन र प्राविधिक विषयको उच्च तहका शिक्षण संस्थाहरुको सञ्चालनको लागि काठमाडौं विश्वविद्यालयको स्थापना हुनेछ।
(२) विश्वविद्यालय अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ।
(३) विश्वविद्यालयको आˆनो एउटा छुटृै छाप हुनेछ।
(४) विश्वविद्यालयले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचविखन गर्न, धितो बन्धक राख्न वा अन्य किसिमले बन्दोवस्त गर्न सक्नेछ।
(५) विश्वविद्यालयले व्यक्ति सरह नालिस उजुर गर्न र विश्वविद्यालय उपर पनि नालिस उजुर लाग्न सक्नेछ।
(६) विश्वविद्यालयको केन्द्रीय कार्यालय धुलिखेलमा रहनेछ।
४. विश्वविद्यालय सभाको गठन : (१) देहायका सदस्यहरु भएको विश्वविद्यालय सभा हुनेछ:–
(क) कुलपति अध्यक्ष
(ख) सह–कुलपति सदस्य
(ग) उप–कुलपति सदस्य
(घ) रजिष्ट्रार सदस्य–सचिव
(ङ) राष्ट्रिय योजना आयोगको सदस्य (शिक्षा हेर्ने) सदस्य
(च) सचिव, शिक्षा तथा संस्कृति मन्त्रालय सदस्य
(छ) सचिव, अर्थ मन्त्रालय सदस्य
(ज) डीनहरु सदस्य
(झ) प्राचार्यहरु मध्येबाट एक जना सदस्य
(ञ) बनेपा नगरपालिकाको प्रमुख सदस्य
(ट) धुलिखेल नगरपालिकाको प्रमुख सदस्य
(ठ) संसद सदस्यहरु मध्येबाट तीन जना सदस्य
(ड) चन्दादाताहरु मध्येबाट दुई जना सदस्य
(ढ) लव्ध प्रतिष्ठित विद्वानहरु मध्येबाट पाँच जना सदस्य
(ण) उद्योगपतिहरु मध्येबाट एक जना सदस्य
(त) शिक्षकहरु मध्येबाट दुई जना सदस्य
(थ) विद्यार्थीहरु मध्येबाट एक जना सदस्य
(द) पुस्तकालयध्यक्ष, विश्वविद्यालय सदस्य
(२) उप–दफा (१) को खण्ड (झ), (ड), (ढ), (ण), (त), (थ) बमोजिमका सदस्यहरु कार्यकारी परिषद्को सिफारिशमा सभाले र खण्ड (ठ) बमोजिमका सदस्यहरु सह–कुलपतिको सिफारिशमा कुलपतिले मनोनीत गर्नेछ।
(३) मनोनीत सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ।
(४) सभा विश्वविद्यालयको सर्वोच्च र अधिकार सम्पन्न निकाय हुनेछ।
५. सभाको काम, कर्तव्य र अधिकार : सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) सम्बन्धित विषयका कार्यक्रमहरुको सञ्चालन र प्रबन्ध गर्ने।
(ख) कलेजको शैक्षिक सम्बन्धन वारे आवश्यक प्रबन्ध गर्ने।
(ग) उपाधिहरु निर्धारण गर्ने र प्रदान गर्ने।
(घ) विश्वविद्यालयको वार्षिक कार्यक्रमलाई स्वीकृत गर्ने र वार्षिक बजेट पारित गर्ने।
(ङ) विश्वविद्यालयका नियमहरु पारित गर्ने।
(च) विश्वविद्यालयका स्कूलहरु र सम्बन्धन प्राप्त कलेजलाई निर्देशन दिने र मार्ग दर्शन गर्ने।
(छ) विश्वविद्यालय र मातहतका निकायको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र कार्यक्रमको मूल्याङ्कन गर्ने।
(ज) लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गर्ने र स्वीकृति दिने।
(झ) विश्वविद्यालयका विभिन्न निकायको शैक्षिक तथा प्रशासनिक कामको लागि आवश्यक शिक्षक तथा कर्मचारीको दरबन्दी स्वीकृत गर्ने।
(ञ) कुनै नयाँ कार्यक्रम सञ्चालन गर्नु परेमा त्यसको अनुमति प्रदान गर्ने।
(ट) उप–कुलपतिको नियुक्तिको लागि कुलपति समक्ष सिफारिश पेश गर्न समिति गठन गर्ने।
(ठ) आवश्यकतानुसार विभिन्न समितिहरु गठन गर्ने।
(ड) पदाधिकारी, शिक्षक तथा कर्मचारीको सेवा, शर्त निर्धारण गर्ने।
६. कार्यकारी परिषद्को गठन : (१) विश्वविद्यालयको देहायका सदस्यहरु भएको एक कार्यकारी परिषद्
हुनेछ :–
(क) उप–कुलपति अध्यक्ष
(ख) रजिष्ट्रार सदस्य
(ग) डीनहरु मध्येबाट दुई जना सदस्य
(घ) सभाबाट मनोनीत शिक्षक प्रतिनिधि एक जना सदस्य
(२) उप–दफा (१) को खण्ड (ग) बमोजिमका सदस्यहरु विषयगत संकायको वर्णानुक्रम अनुसार पालै पालोसित सदस्य हुनेछन्।
(३) मनोनीत सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ।
७. कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार : कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) सभाको निर्णय र निर्देशनहरु कार्यान्वयन गर्ने गराउने।
(ख) श्री ५ को सरकारले निर्धारण गरेको नीति, निर्देशनको पालना गर्ने।
(ग) सभामा प्रस्तुत हुने वार्षिक कार्यक्रम, बजेट, प्रगति विवरण, लेखा परीक्षण प्रतिवेदन र अन्य प्रस्तावहरु तयार गर्ने।
(घ) विश्वविद्यालयलाई प्राप्त दान, दातव्य ग्रहण गर्ने।
(ङ) विश्वविद्यालयको कोष र चल अचल सम्पत्तिको संरक्षण गर्ने सभाको नीति तथा निर्देशन भित्र रही आवश्यकतानुसार बेचविखन गर्ने।
(च) विश्वविद्यालयले सञ्चालन गरेको कार्यहरुको रेखदेख गर्ने, निरीक्षण गर्ने र सो को प्रतिवेदन सभामा पेश गर्ने।
(छ) विश्वविद्यालय सम्बन्धी नियमहरुको मस्यौदा तयार गरी स्वीकृतिको लागि सभामा पेश गर्ने।
(ज) विश्वविद्यालयलाई आवश्यक पर्ने कर्मचारीको नियुक्ति गर्ने।
(झ) कर्मचारीको सेवा, शर्त निर्धारण गरी सभा समक्ष पेश गर्ने।
८. प्राज्ञिक परिषद्को गठन : (१) विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा प्रमुख निकायको रुपमा देहायका सदस्यहरु भएको एक प्राज्ञिक परिषद् हुनेछ :–
(क) उप–कुलपति अध्यक्ष
(ख) रजिष्ट्रार सदस्य
(ग) डीनहरु सदस्य
(घ) विषय समितिका अध्यक्षहरु मध्येबाट पाँच जना सदस्य
(ङ) सम्बन्धन प्राप्त कलेजबाट दुई जना सदस्य
(२) पदेन सदस्यहरु वाहेक अन्य सदस्यहरुको मनोनयन सभाबाट हुनेछ।
(३) मनोनीत सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ।
९. प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार : प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक कुरामा मुख्य निकायको रुपमा रही कार्य गर्ने।
(ख) विश्वविद्यालयमा हुने अध्ययन तथा अध्यापनको गुणस्तर, पाठ्यक्रम, परीक्षाको स्तर र किसिम, मूल्याङ्कन विधिहरु, शिक्षण सामाग्रीहरु, विद्यार्थी भर्ना सम्बन्धी संख्या र योग्यता निर्धारण गर्ने।
(ग) अनुसन्धान सम्बन्धी नीति तर्जुमा गर्ने र अनुसन्धान कार्यक्रमहरुलाई स्वीकृति प्रदान गर्ने।
(घ) विद्यार्थीहरुको शैक्षिक कार्यक्रमहरुको मूल्याङ्कन गर्ने।
(ङ) शिक्षण र अनुसन्धानको स्तर निर्धारण गर्ने।
(च) मानार्थ उपाधिहरुको व्यवस्था गर्ने।
(छ) विभिन्न तहका निमित्त शिक्षकको न्यूनतम योग्यता तोक्ने।
१०. विश्वविद्यालयको संगठन : (१) कुलपति, उप–कुलपति, रजिष्ट्रार, डीनहरु र सम्बन्धन प्राप्त कलेजहरुको सामुहिक रुप नै विश्वविद्यालयको स्वरुप हुनेछ।
(२) उच्च शिक्षाको लागि तोकिएको विषयहरुमा तोकिएका स्कूलहरु रहनेछन्।
(३) स्कूलहरुको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
(४) कलेजहरु सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।
११. जिम्मेवारी र अधिकार प्रत्यायोजन : (१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही विश्वविद्यालयको सबै अधिकार सभामा निहित रहनेछ।
(२) सभाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा उल्लेख भएका आˆना अधिकारहरु मध्ये आवश्यकता अनुसार सबै वा केही अधिकार कार्यकारी परिषद्, प्राज्ञिक परिषद् तथा अन्य पदाधिकारीहरुलाई वा तोकिए बमोजिम स्थापना गरिएका समितिलाई सुम्पन सक्नेछ।
१२. पदाधिकारीहरु : विश्वविद्यालयमा देहाय बमोजिमका पदाधिकारीहरु रहनेछन् :–
(क) कुलपति
(ख) सह–कुलपति
(ग) उप–कुलपति
(घ) रजिष्ट्रार
(ङ) डीनहरु
(च) अन्य पदाधिकारीहरु।
१३. कुलपति : (१) प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुनेछ।
(२) शिक्षा मन्त्री विश्वविद्यालयको सह–कुलपति हुनेछ।
(३) कुलपति विश्वविद्यालयको प्रमुख र सभाको अध्यक्ष हुनेछ।
(४) कुलपतिलाई विश्वविद्यालय वा विश्वविद्यालयसंग सम्बन्धित जुनसुकै विषय वा वस्तुको निरीक्षण वा जाँचबुझ गर्ने गराउने अधिकार हुनेछ।
(५) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत भएका कार्यलाई कुलपति रद्द गर्न सक्नेछ।
(६) कुलपतिको अन्य अधिकार तोकिए बमोजिम हुनेछ।
(७) कुलपतिले गर्ने भनी तोकिएको कार्य सह–कुलपतिबाट गराउन सकिनेछ।
१४. उप–कुलपति : (१) विश्वविद्यालयको उप–कुलपति पदमा सभाद्वारा गठित तीन सदस्यीय समितिले सिफारिश गरेको व्यक्तिलाई कुलपतिबाट चार वर्षको लागि नियुक्ति गरिनेछ।
(२) उप–कुलपति विश्वविद्यालयको प्रमुख प्रशासकीय पदाधिकारी हुनेछ।
(३) उप–कुलपति पूरा समय काम गर्ने वैतनिक पदाधिकारी हुनेछ। निजको पारिश्रमिक र सेवाका अन्य शर्तहरु तोकिए बमोजिम हुनेछन्।
(४) कुलपति तथा सह–कुलपतिको अनुपस्थितिमा विश्वविद्यालय सभामा उप–कुलपतिले अध्यक्षता गर्नेछ।
(५) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको पालना गर्नु गराउनु उप–कुलपतिको कर्तव्य हुनेछ र यसको प्रयोजनको निमित्त उप–कुलपतिको विचारमा तत्काल कुनै काम कारवाही नगरी नहुने आकस्मिक अवस्था आइपरेको छ भन्ने लागेमा निजले उचित र आवश्यक देखेको काम कारवाही गर्न सक्नेछ र त्यसको सूचना सकभर चाँडो सम्बन्धित पदाधिकारी वा निकायलाई दिनेछ।
(६) उप–कुलपतिले सभाको निर्णय वा आदेशलाई कार्यान्वयन गर्नेछ।
(७) विश्वविद्यालयको सबै शैक्षिक र प्राज्ञिक काम कारवाही उपर उप–कुलपतिको सामान्य नियन्त्रण रहनेछ।
(८) सभामा पेश हुने सबै विषयहरु उप–कुलपति मार्फत पेश हुनेछन्।
(९) विश्वविद्यालयका सबै कार्यहरु सभाको निर्देशनमा उप–कुलपतिले कार्यान्वयन गर्नेछ।
१५. रजिष्ट्रार : (१) विश्वविद्यालयको रजिष्ट्रारको नियुक्ती उप–कुलपतिको सिफारिशमा कुलपतिबाट चार वर्षको लागि हुनेछ।
(२) रजिष्ट्रार विश्वविद्यालयको पूरा समय काम गर्ने वैतनिक पदाधिकारी हुनेछ।
(३) रजिष्ट्रारले सभाको निर्णय वा आदेशलाई प्रमाणित गर्नेछ।
(४) रजिष्ट्रारलाई विश्वविद्यालयको सबै प्रकारको प्रशासनिक तथा प्राज्ञिक कार्यको जिम्मेवारीपूर्वक कार्य सम्पन्न गर्ने, गराउने अधिकार हुनेछ।
(५) विश्वविद्यालयको सामान्य प्रशासन, आर्थिक प्रशासन तथा प्राज्ञिक कार्यहरु रजिष्ट्रार अन्तर्गत सम्पन्न हुनेछन्।
(६) रजिष्ट्रारको अन्य काम, कर्तव्य अधिकार र पारिश्रमिक सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।
१६. डीन र अन्य पदाधिकारीहरु : (१) डीनको नियुक्ति तीन वर्षको लागि हुनेछ।
(२) डीन संकायको प्रमुख हुनेछ र निज पूरा समय काम गर्ने पदाधिकारी हुनेछ।
(३) डीनको नियुक्ति कार्यकारी परिषद्बाट हुनेछ।
(४) डीन र अन्य पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
१७. स्कूल : विश्वविद्यालय अन्तर्गतका प्रमुख शैक्षिक कार्यक्रमहरु स्कूलहरुमा संचालित हुनेछन। कला, विज्ञान, व्यवस्थापन, प्रविधि आदि संकायका लागि स्कूलहरु स्थापित हुनेछन्।
१८. विद्यापरिषद् र विषय समिति : (१) प्रत्येक स्कूलमा शैक्षिक तथा प्राज्ञिक कार्यक्रमहरुको सञ्चालनको लागि एक विद्यापरिषद् रहनेछ।
(२) प्रत्येक स्कूलमा सञ्चालन हुने विभिन्न शैक्षिक तथा प्राज्ञिक विषयको पाठ्यक्रम निर्धारण गर्नको लागि स्कूलको विद्या परिषद् अन्तर्गत विभिन्न विषय समितिहरु रहनेछन्।
(३) विद्यापरिषद् र विषय समितिको गठन, अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
१९. लेखा परीक्षण : विश्वविद्यालयको लेखा परीक्षण सभाद्वारा नियुक्त लेखा परीक्षकबाट हुनेछ।
२०. विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यता : विश्वविद्यालयमा भर्ना हुन तोकिए बमोजिमको परीक्षा उत्तीर्ण भएको हुनु पर्नेछ।
२१. विघटन हुंँदाको परिणाम : विश्वविद्यालय विघटन भएका अवस्थामा यसको सम्पूर्ण सम्पत्ति श्री ५ को सरकारको हुनेछ।
२२. नियम बनाउने अधिकार : यो ऐनको उद्देश्य कार्यान्वित गर्न विश्वविद्यालयले आवश्यक नियमहरु बनाउन सक्नेछ।
Ë मिति २०४८/८/२५ गते देखि प्रारम्भ हुने गरी तोकिएको (ने रा प्र २०४८/८/२३)
Education
