"प्राङ्गारिक कृषि" माटोको उर्वरापन, पर्यावरणीय प्रणाली र मानव स्वास्थ्यको सम्बर्द्धन गर्ने उत्पादन प्रणाली हो । यो पर्यावरणीय पद्धति, जैविक विविधता र स्थानीय परिवेश अनुसारको जैविक चक्र एवं प्रणालीमा आधारित छ । यसले परम्परा, अन्वेषण र विज्ञानलाई समायोजन गरी यसमा अन्तरनिहित पक्षहरुको स्वच्छ सम्बन्ध मार्फत गुणस्तरीय जीवन पद्धतिको प्रवर्द्धन गर्दछ । परम्परागत ज्ञान तथा सीपलाई समय सापेक्ष रुपमा परिवर्तन गरी प्राङ्गारिक कृषि प्रणाली अवलम्बन गर्दा प्रति ईकाई भूमिबाट अधिक उत्पादन हुनुको साथै सो क्षेत्रको पर्यावरण वातावरण सन्तुलन राख्न सहयोग पुग्दछ । प्राङ्गारिक खेती प्रणालीको महत्व र फाइदा बुझिसकेका किसानले नेपालमा पनि कफी, चिया र अन्य केही बालीहरुमा यो पद्धति शुरु गरी उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन थालिसकेका छन् र प्राङ्गारिक कृषिको क्षेत्रमा क्रमिक रुपले वृद्धि भैरहेको छ । स्थानीय प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वर्द्धन र संतुलित उपयोग गरी दिगो कृषि व्यवस्थापन मार्फत कृषि क्षेत्र एवं मुलुकको आर्थिक विकास गर्ने लक्ष्य हासिल गर्नमा प्राङ्गारिक कृषि प्रणालीले महत्वपूर्ण टेवा पुयाउने विश्वास गर्न सकिन्छ । यस सन्दर्भमा प्राङ्गारिक कृषि प्रणालीको विकासका लागि यसका आधारभूत सिद्धान्त तथा प्राविधिक आधारहरुको एकिन गरी प्राङ्गारिक उपजहरुको गुणस्तर निर्धारण, मापन र प्रमाणीकरणका लागि प्रक्रियागत व्यवस्था हुनु अति महत्वपूर्ण देखिन्छ । कुनै पनि व्यवसायिक उत्पादनको उत्पादक र उपभोक्ताहरु बीचको दूरी धेरै हुन्छ । यी दुई पक्ष महत्वपूर्ण भएता पनि एक अर्कासिंग अपरिचित हुन्छन् । तसर्थ, उपभोक्ताले उपभोग गर्ने वस्तुमा कुनै पनि हानिकारक रासायनिक पदार्थ छैन भन्ने कुराको विश्वास दिलाउनु र त्यसका लागि प्रत्यक्ष प्रमाणको आधार तयार पार्न अत्यन्त आवश्यक हुन्छ । यही प्रमाणको आधार नै प्राङ्गारिक प्रमाणीकरण हो जसले उपभोक्तालाई उत्पादन प्रति विश्वस्थ बनाउँछ । तसर्थ अग्रिम रुपमा पहिचान गरिएको र विश्वासिलो प्रकृया अपनाई निर्धारित गुणस्तर कायम गर्नको लागि पूरा गर्न पर्ने आवश्यक शर्तहरु पूरा गरिएको छ भनि प्राङ्गारिक उत्पादनलाई तेश्रो पक्षले दिने लिखित सुनिश्चिततालाई प्राङ्गारिक प्रमाणीकरण भनिन्छ ।
अर्को तर्फ हेर्ने हो भने विश्वका धेरैजसो कृषकहरू प्रायः दुर्गम क्षेत्रमा बस्ने साना कृषक भएकाले निरीक्षणको लागि धेरै समय लाग्दछ । यसको साथै एक जना कृषकको कृषि उत्पादनबाट हुने कूल आम्दानी प्राङ्गारिक निरीक्षण तथा प्रमाणीकरण गर्न लाग्ने खर्चको तुलनामा निकै कम हुने गर्दछ । त्यसकारण विकासोन्मुख देशका साना कृषकहरू र प्राङ्गारिक प्रमाणीकरण निकाय मिलेर सामूहिक प्रमाणीकरण प्रणालीको विकास गरेका छन्, जसले समूहगत रूपमा उत्पादकको हैसियतले प्राङ्गारिक मापदण्डको पालना गरे/ नगरेको अनुगमन एवं निरीक्षण गरी प्रमाणित गर्दछ । सामूहिक प्रमाणीकरणको मूल आधार नै सदस्यहरू बीचको आत्मियता र सहयोगी भावना भएकाले यसलाई आन्तरिक नियन्त्रण प्रणालीको रूपमा चिनिएको छ । आइफोम (IFOAM, International Federation of Organic Agriculture Movement) को परिभाषा अनुसार आन्तरिक नियन्त्रण प्रणाली भनेको प्राङ्गारिक उत्पादनको गुणस्तर किटानी गर्ने एक लिखित दस्तावेज हो, जसमा वाह्य प्राङ्गारिक प्रमाणीकरण निकायले समूहका हरेक सदस्यहरूको वार्षिक निरीक्षण गर्न सोही समूह अन्तर्गत गठन भएको समितिलाई अनुमति दिन्छ । आन्तरिक निरीक्षण प्रणाली संचालन गर्ने समूह सहकारी संस्था संघले प्रत्येक समूह सदस्यहरूले बाली उत्पादन गर्ने क्रममा तोकिएको प्राङ्गारिक उत्पादन मापदण्ड अनुसार काम गरे नगरेको हेर्दछ र प्राङ्गारिक प्रमाणीकरण निकायले आन्तरिक नियन्त्रण प्रणालीले सही ढङ्गमा काम गरे नगरेको मूल्याङ्कन गर्दछ । मूल्याङ्कन गर्ने क्रममा प्राङ्गारिक प्रमाणीकरण निकायले मुख्यतया आन्तरिक नियन्त्रण प्रणालीको रेकर्ड राख्ने तौरतरिका, त्यस अन्तर्गतका कर्मचारीहरूको योग्यता तथा आवश्यकता अनुसार केही कृषकहरूको पूनः निरीक्षण गर्दछ । यसै अन्तर्गत आन्तरिक नियन्त्रण प्रणालीले निर्धारण गरेको प्राङ्गारिक मापदण्डको आधारमा कृषकको सबै गतिविधिहरुको अभिलेख राखि प्राङ्गारिक प्रमाणीकरण प्रक्रियालाई व्यवस्थित पार्ने उद्देश्यले नेपाल सरकारले यो निर्देशिका तयार गरि लागु गरेको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Agriculture
